देशमा भैरहेको विभिन्न विषयहरुमा मानवअधिकार एलाइन्सको ध्यानाकर्षण
देशमा भैरहेको विभिन्न विषयहरुमा मानवअधिकार एलाइन्सको ध्यानाकर्षण
कैयौं दिनदेखि बन्द रहेको सुदुर पश्चिमले मानिसहरुको दैनिक जीवनलाई प्रत्यक्ष रुपमा नकारात्मक असर पारि रहेको छ । धेरै जसो सरकारी र नीजि क्षेत्रका अस्पतालहरुले औषधिको अभाव भोगिरहनु परिरहेको छ भने बिरामीले पनि सास्ती वेहोरिरहनु परिरहेको छ । अछाम, बाजुरा, बझाङ, बैतडी र डडेल्धुरा जस्ता विकट गाउँका जिल्ला अस्पतालमा सिटामोल, एम्जीट तथा अन्य जीवन बचाउनका लागि अत्यावश्यक औषधिहरुको अभाव रहेको छ ।
यसैगरी बन्दले गर्दा पेट्रोलियम पदार्थको पनि अभाव भएकोले जनतालाई दैनिक उपभोग्य वस्तु पाउन पनि धौधौ परिरहेको छ । यस्ता अत्यावश्यक वस्तुहरुलाई सर्वसुलभ तुल्याउन सरकारले चाँडो भन्दा चाँडो उपयुक्त कदम चालोस् भनी सरकारसँग हार्दिक अपिल गर्दछौं ।
अर्को तर्फ बैशाख २६ गते बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई सरकारले हटाएको र घर टहरा भत्काएको विषयमा मानवअधिकार एलाइन्सको ध्यानाकर्षण भएको छ । सुकुम्बासी हटाउने सिलसिलामा भएको झडपमा घाइते भएका सुकुम्बासीहरुको उचित औषधि उपचारको लागि र सुकुम्बासी बस्तीबाट हटाइएका अशक्त अवस्थामा रहेका वृद्धवृद्धा, महिला, बालबालिका, गर्भिणी, सुत्केरी, बिरामीहरुको उचित रेखदेख र वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरुको पुनःस्थापनाको व्यवस्था मिलाउन सरकार समक्ष हार्दिक माग गर्दछौ । त्यहाँ रहेका विद्यार्थीहरुको शिक्षाको निरन्तरता र बस्ती खाली गराउँदा मानवअधिकारको आधारभूत सिद्धान्तहरुको सम्मान गर्न पनि हार्दिक अनुरोध गर्दछौं ।
पोखरामा हिम पहिरोले बाढी आएको र २० जना जतिको मृत्यु भएको र ४० जना जति हराएको र कैयौंको आफ्नो घर तथा सामानहरु बगाएर लगी घरबारबिहिन भएकोले मृतकलाई क्षतिपूर्ति, घाइतेको शिघ्र तथा निशुल्क उपचार र हराइरहेको शीघ्र खोजीको लागि सरकारसँग अपिल गर्दछौं । साथै घरबारबिहिन भएकाहरुले उचित क्षतिपूर्ति दिई घर टहरा बनाउन मद्दत गर्न पनि हार्दिक अपिल गर्दछौं ।
संयुक्त राष्ट्रसंघको महासचिव बानकी मुनले अप्रिल १४, २०१२ का दिन एक वक्तव्य दिंदै नेपालका पूर्व माओवादी लडाकुहरुलाई पुर्नस्थापना गर्नको निम्ति नेपाली सेनामा समायोजन गरिएको विषयलाई प्रसंशा गर्दै नेपालमा तोकिएको समयमा मानवअधिकार मैत्री संविधान बनाउन अपिल गरेको कुरालाई कदर गर्दै नेपालका राजनीतिक पार्टी तथा संविधान सभाले तोकिएको समयमै संविधान बनाई मुलुकलाई अनिर्णयको बन्दीबाट त्राण दिलाउन मानवअधिकार एलाइन्स सम्बन्धित सबैलाई हार्दिक अपिल गर्दछ ।
अध्यक्ष



0 comments